काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन उनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा उनले नेपालको समसामयिक अवस्था तथा अन्तर्राष्ट्रिय विषयमा नेपालको धारणा राख्नेछन्।
प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ। उनको अनुपस्थितिमा सरकारको नियमित कार्यसम्पादनको जिम्मेवारी कार्यवाहक प्रधानमन्त्री वाग्लेले सम्हाल्नेछन्।






































